Sur Cinema

बुवाको त्याग र सन्तानको बेवास्ताको कथा, ‘बा : एक योद्धा’लाई प्रिमियरमै प्रशंसा

काठमाडौं : असोज ९ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘बा : एक योद्धा’ले काठमाडौंमा सम्पन्न प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । मंगलबार साँझ आयोजित प्रिमियरमा सहभागी सिनेकर्मी, कलाकार तथा पत्रकारले सिनेमाको कथा नेपाली समाजका धेरै परिवारको यथार्थसँग जोडिएको बताए ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमाले सन्तानका लागि बुवाले गर्ने त्याग, संघर्ष र वृद्ध अवस्थामा सन्तानबाटै भोग्नुपर्ने उपेक्षालाई कथाको केन्द्रमा राखेको छ । रोजगारी तथा अध्ययनका लागि सन्तान विदेशिँदा बुवाआमाले भोग्ने एक्लोपन र पारिवारिक दूरीलाई पनि चलचित्रले प्रस्तुत गरेको छ ।

प्रिमियरपछि अभिनेता हरिवंश आचार्यले सिनेमाले आफूलाई भावुक बनाएको बताए । “मलाई चलचित्र राम्रो लाग्यो । रुन मन लाग्यो । सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ,” उनले भने । अभिनेत्री ऋचा शर्माले दिव्यदेवको अभिनयको प्रशंसा गरिन् भने अभिनेत्री पुष्पा थिङ लामाले सिनेमाले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिइन् ।

सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकीलगायतको अभिनय छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमालाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।