Sur Cinema

‘द राइज अफ साम्राज्य’को छायांकन सुरु

काठमाडौं : निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको सिनेमा ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन थालिएको हो ।

एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने सिनेमाको छायांकन ७० दिनको तालिकामा गरिनेछ । सिनेमाको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा हुनेछ ।

सिनेमामा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठको अभिनय रहनेछ । सिनेमामा सौगातले २५ वर्षदेखि ८० वर्षसम्मको उमेरको चरित्र निर्वाह गर्ने निर्देशक चौधरीले बताएका छन् ।

बुद्धिसागरको कथा तथा पटकथा रहेको सिनेमा डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदैछ । प्रवेश चौधरी र निला देव निर्माता रहेको सिनेमामा विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् ।