काठमाडौं : बलिराम चौहानको निर्देशनमा बन्न लागेको सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ । ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै निर्माण टिमले सिनेमाको शुभ मुहूर्त गरेको हो ।
मुहूर्त कार्यक्रममा निर्देशक चौहान, निर्माता भोलानाथ कटुवालसहित सिनेमाका मुख्य कलाकारको उपस्थिति थियो । सिनेमाको छायांकन बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट सुरु हुने निर्देशक चौहानले जानकारी दिए ।
३५ दिनको छायांकन तालिका रहेको सिनेमाको छायांकन काठमाडौं, झापा र सुनसरीको इटहरीमा गरिनेछ । स्काइफल पिक्चर्सको प्रस्तुति रहने सिनेमाको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ ।
युवापुस्ताले साथीभाइबीचको किचकिच, दबाब तथा मानसिक तनावलाई जनाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई नै सिनेमाको शीर्षक बनाइएको निर्देशक चौहानले बताए । उनका अनुसार सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्नेछ ।
‘युवापुस्ताको मनोविज्ञान र समसामयिक विषयलाई कथामार्फत पर्दामा उतार्ने प्रयास गरेका छौं,’ चौहानले भने । सिनेमामा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ ।
बलिराम चौहान र उपाश्री खतिवडाको कथा रहेको सिनेमामा भोलानाथ कटुवालको लगानी रहनेछ । रवी रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स)को संगीत, साश्वत श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक तथा मित्र डी. गुरुङको सम्पादन रहनेछ ।


















