Sur Cinema

‘टनेल २६’को ट्रेलर सार्वजनिक, बाढीपीडितलाई आम्दानीको २५ प्रतिशत दिने घोषणा

काठमाडौं : नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको सिनेमा ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक भएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो।

डिजास्टर जनरामा बनेको सिनेमा आगामी असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानमा प्रदर्शन हुँदैछ। भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित सिनेमामा जलविद्युत् सुरुङभित्रको दुर्घटना र त्यसपछि सिर्जना हुने संकटलाई प्रस्तुत गरिएको छ। सिनेमाको महत्वपूर्ण दृश्य वास्तविक सुरुङमै छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।

करिब १०० दिन छायांकन गरिएको सिनेमामा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामोलगायतको अभिनय छ। डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको सिनेमामा नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्।

ट्रेलर रिलिज कार्यक्रममा निर्माता निर्वाण चौधरीले नेपाल र भुटानको सहकार्यमा सिनेमा निर्माण गर्न पाउँदा खुसी व्यक्त गरे। प्रदीपले आफू सिनेमामा कलाकार नभई क्रिएटिभ निर्माताका रूपमा मात्र रहेको स्पष्ट पारे।

मुख्य कलाकार तथा निर्माता सङ्गे छेल्ट्रिमले नेपालमा हालै आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सिनेमाको कुल आम्दानीको २५ प्रतिशत अर्थात् आफ्नो सेयरको ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरे।

सिनेमालाई नेपाल र भुटानपछि एसिया, उत्तर अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।