काठमाडौं : अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको सिनेमा ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। तीव्र द्वन्द्व, आकर्षक एक्सन कोरियोग्राफी र मनोरञ्जनात्मक दृश्यले सिनेमा एक्सनप्रधान रहेको संकेत गर्छ। ‘भैरव’पछि निखिलले ‘आचार्य’मा पनि मास इन्टरटेनर शैलीको एक्सनलाई प्राथमिकता दिएका छन्।
निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको सिनेमाबाट पूर्णिका सिजापती र सजिना श्रेष्ठले अभिनयमा डेब्यु गर्दैछन्। सिनेमामा अन्य नेपाली तथा विदेशी कलाकारको पनि अभिनय छ।

सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन, शुक्रराज शाहको एक्सन निर्देशन र बन्दे प्रसादको सम्पादन रहेको सिनेमाको नेपाल वितरण मनोज राठीले गर्दैछन्। विदेशमा भने सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।

















