काठमाडौं : चर्चित नेपाली फ्रेन्चाइज ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
पोस्टरमा दयाहाङ राई, विजय बराल र बुद्धि तामाङ काजी, बीके र छन्त्यालको भूमिकामा देखिएका छन्। काजी क्रिकेट ब्याट बोकेर सोचमग्न अवस्थामा देखिँदा बीके र छन्त्यालले उनलाई नियालिरहेका छन्।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ, विजय, बुद्धिसहित विपीन कार्की, रिश्मा गुरुङलगायत कलाकारको अभिनय छ। चौथो भागलाई अन्तिम भनिए पनि पात्रहरूको कथा अधुरो रहेकाले त्यसलाई पूर्णता दिन पाँचौँ शृङ्खला निर्माण गरिएको निर्देशक गुरुङले बताएका छन्।


















