काठमाडौं : नेपालमा दर्शकको राम्रो प्रतिक्रिया पाएको नेपाली सिनेमा ‘बेहुली’ आज शुक्रबार (सेप्टेम्बर १८)देखि अमेरिकाका २३ राज्यमा प्रदर्शन हुने भएको छ।
‘सेभेज सिज इन्टरनेशनल फिल्म्स’ले रिलिज गर्न लागेको सिनेमा टेक्सास, क्यालिफोर्निया, न्यूयोर्क, मेरिल्यान्ड, ओहायोलगायतका राज्यका सिनेमार्क, मार्कस, हार्किन्स र एप्पल सिनेमाजलगायतका हलमा प्रदर्शन हुनेछ।
प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार अमेरिकामा रहेका नेपाली तथा नेपाली सिनेप्रेमी दर्शकमाझ ‘बेहुली’ पुर्याउन लागिएको हो। सिनेमा अन्य मुलुकमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको छ।
माधव शर्माको लेखन तथा शशान कँडेलको निर्देशनमा बनेको सिनेमामा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँलगायतको अभिनय छ।


















