Sur Cinema

‘बा : एक योद्धा’ : बुवाको त्याग, छोराको महत्वाकांक्षा र परिवारको पीडा

काठमाडौं : सिनेमा ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आउने सिनेमाको ट्रेलरमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र त्यसलाई नबुझ्ने छोराहरूको व्यवहारलाई प्रस्तुत गरिएको छ ।

घरसमेत धितो राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवाको योगदान, छोराहरूको महत्वाकांक्षा र त्यसबाट मध्यमवर्गीय परिवारले भोग्नुपर्ने आर्थिक तथा पारिवारिक समस्यालाई ट्रेलरले केन्द्रमा राखेको छ । बुवाआमाको पीडा आफ्नै सन्तानले नबुझ्दा छिमेकीले सहयोग गर्ने प्रसंगसमेत ट्रेलरमा देखाइएको छ । छोरीको भूमिकालाई भने सस्पेन्समा राखिएको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय छ । फिचर सिनेमामा लम्सालको यो पहिलो निर्देशन हो ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन् । शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमालाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।