काठमाडौं : कक्षा १२ को नेपाली विषयको पाठ्यक्रममा समावेश हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित चर्चित सामाजिक उपन्यास ‘एक चिहान’ अब विद्यार्थीमाझ नाटकका रूपमा पनि प्रस्तुत हुन थालेको छ।
कल्पना थापाको निर्माण, एच.पी. मगरको नाट्य रूपान्तरण तथा सागर कार्कीको निर्देशनमा तयार भएको ‘एक चिहान’ प्रज्ञा प्रतिष्ठानको सबैभन्दा ठूलो हलमा विद्यार्थीमाझ मञ्चन गरिएको हो।
नाटकको पहिलो शोमा १३ सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। युनिग्लोब कलेजका विद्यार्थी तथा शिक्षक यादव भण्डारीले सल्लाह, सुझाव र छलफलसँगै कथालाई थप परिमार्जन गरिएको निर्माण पक्षले जनाएको छ।

उपन्यासलाई पाठ्यक्रममा पढेका विद्यार्थीले त्यसै कथालाई मञ्चमा प्रत्यक्ष हेर्दा पाउने अनुभव भने फरक देखिएको छ। पहिलो शोपछि दुई विद्यार्थीले दिएका फरक–फरक प्रतिक्रियाले पनि पढाइ र प्रत्यक्ष हेराइबीचको अन्तर प्रस्ट पारेको छ। यही कारण यस्ता साहित्यिक कृतिलाई नाटकमार्फत विद्यार्थीमाझ पुर्याउनुपर्ने आवश्यकता देखिएको निर्माण पक्षको भनाइ छ।
पहिलो शोपछि विद्यार्थीबाट नाटकले समेटेको कथा, प्रस्तुति र कलाकारको अभिनयलाई लिएर सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। विशेषगरी नाटकका सबै पात्रको चर्चा भए पनि गोदत्तप्रसादको चरित्र र त्यसमा देखिएको अभिनय दर्शकको विशेष आकर्षण बनेको छ।
नाटकमा विकास जोशी, कल्पना थापा, रश्मी गुरुङ, नारायण भण्डारी, पुरन राई, प्रदीप विश्वकर्मा, गोविन्दराज खड्का, मुकेश विश्वकर्मा, साङ्केनाम राई, रचना पाण्डे, सरस्वती खड्का, सुनिलकुमार राना, दिरेन कार्की, तुलसी राई र अञ्जना दुलाललगायत कलाकारहरूको अभिनय रहेको छ।
पाठ्यक्रममा पढिने कृतिलाई मञ्चमा जीवन्त रूपमा प्रस्तुत गर्दै विद्यार्थीलाई साहित्य बुझ्ने अर्को दृष्टिकोण दिने प्रयासका रूपमा ‘एक चिहान’ नाटकलाई हेरिएको छ।

















