काठमाडौं : कक्षा १२ को नेपाली विषयको पाठ्यक्रममा समावेश हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित चर्चित सामाजिक उपन्यास ‘एक चिहान’ नाटकका रूपमा डिएभी कलेजमा मञ्चन गरिएको छ।
कल्पना थापाको निर्माण तथा एच.पी. मगरको नाट्य रूपान्तरण रहेको नाटकलाई सागर कार्कीले निर्देशन गरेका हुन्। डिएभी कलेजमा पहिलोपटक मञ्चन गरिएको नाटक कलेजकै सबैभन्दा ठूलो बुद्ध हलमा कक्षा १२ का विद्यार्थीलाई लक्षित गरी दुई शो प्रस्तुत गरिएको थियो।
नाटकले विद्यार्थी तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। विशेषगरी डाक्टर गोदत्तप्रसाद, रञ्जना देवी र नानी थकु लगायतका पात्रको प्रस्तुति र अभिनयले दर्शकको ध्यान खिचेको थियो।

नाटकमा विकास जोशी, कल्पना थापा, रश्मी गुरुङ, नारायण भण्डारी, पुरन राई, प्रदीप विश्वकर्मा, गोविन्दराज खड्का, मुकेश विश्वकर्मा, साङ्केनाम राई, रचना पाण्डे, सरस्वती खड्का, सुनिलकुमार राना, दिरेन कार्की, तुलसी राई र अञ्जना दुलाललगायत कलाकारको अभिनय रहेको छ।
कक्षा १२ को पाठ्यक्रममै समावेश कृतिलाई प्रत्यक्ष नाटकमार्फत विद्यार्थीमाझ प्रस्तुत गरिएकाले ‘एक चिहान’को डिएभी मञ्चनलाई शैक्षिक तथा सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

















