Sur Cinema

बाढीले रोकिएको ‘बा : एक योद्धा’ अब असोज ९ मा

काठमाडौं : भोटेकोशी बाढीका कारण प्रदर्शन रोकिएको सिनेमा ‘बा : एक योद्धा’ अब असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।

यसअघि सिनेमा मंसिर २४ गते प्रदर्शन गर्ने तयारी थियो । निर्माण टिमले बाढीपीडितका लागि दुई लाख रुपैयाँ सहयोगसमेत गरेको थियो ।

निर्माता वसन्त लम्सालका अनुसार वितरक तथा प्रदर्शकसँगको सल्लाहपछि असोज ९ गतेको मिति तय गरिएको हो । हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ ।

सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र चुनौतीलाई मुख्य कथावस्तु बनाइएको सिनेमा ‘बा : एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सिनेमालाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।