Sur Cinema

५१ दिनमा सकियो ‘चिरञ्जीवी भवः’को छायांकन, माघ १ गते प्रदर्शनमा आउने

काठमाडौं : निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘चिरञ्जीवी भवः’को छायांकन ५१ दिनमा सम्पन्न भएको छ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको सिनेमाको छायांकन जेठ १५ गतेदेखि धनकुटा, सुनसरी र काठमाडौंमा गरिएको हो।

सामाजिक कथावस्तुमा आधारित सिनेमाले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धलाई मुख्य विषय बनाएको छ। कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा निर्माण भएको सिनेमामा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको छ।

सिनेमामा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीसहित कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, हरिस निरौला ‘कक्रोज’लगायत कलाकारको अभिनय छ।

निर्देशक आचार्यले छायांकनमा जस्तै पोस्ट प्रोडक्सनमा पनि मेहनत गरेर दर्शकले मन पराउने सिनेमा बनाउने बताएका छन्।

शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन तथा बाबु गिरीको संगीत रहेको सिनेमामा गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन छ।

‘चिरञ्जीवी भवः’ २०८३ माघ १ गते अर्थात् १५ जनवरीदेखि देशभर प्रदर्शनमा आउनेछ। सिनेमाको देशव्यापी वितरण आरआर फिल्मस्ले गर्नेछ।