Sur Cinema

‘पेन्सन पट्टा’को टिजर सार्वजनिक, भदौ २६ गतेदेखि प्रदर्शनमा

काठमाडौं : माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली सिनेमा ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको टिजरले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथा प्रस्तुत गरेको छ।

सिनेमाको कथा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुको पहिलो पत्नीको नाम उल्लेख भएको थाहा पाएपछि छोराले भोग्नुपरेको अन्योल र त्यसले निम्त्याउने पारिवारिक तथा भावनात्मक उतारचढावको सेरोफेरोमा आधारित देखिन्छ।

सिनेमामा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङलगायत कलाकारको अभिनय छ। माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्मित सिनेमाले लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको कथा प्रस्तुत गर्नेछ।
सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको छ। ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गते (सेप्टेम्बर ११, २०२६) देखि नेपालभर प्रदर्शनमा आउनेछ।