काठमाडौं : निर्देशक तथा निर्माता सम्राट बस्नेतले नयाँ सिनेमा ‘दुर्गा’ निर्माणको घोषणा गरेका छन्। थिम पोस्टर सार्वजनिक गर्दै उनले आफ्नो नयाँ प्रोजेक्टबारे जानकारी दिएका हुन्।
सार्वजनिक पोस्टरमा दुर्गा मन्दिरअगाडि रातो पहिरनमा उभिएकी युवती देखाइएको छ। सिनेमाको नाम र पोस्टरले कथामा धार्मिक तथा रहस्यमय पक्ष रहने संकेत गरेको छ।
निर्देशक बस्नेतका अनुसार ‘दुर्गा’ मिथोलोजिकल कथामा आधारित हुनेछ। सिनेमाका मुख्य कलाकार र प्राविधिक टिमको घोषणा भने चाँडै गरिनेछ। केही कलाकार अडिसनमार्फत छनोट गरिने तयारी रहेको उनले बताएका छन्।
कुस्मंडा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाको कथा निश्चल ढुंगानाले लेखेका हुन्। करिब ९० दिनको छायांकन तालिका रहेको सिनेमा काठमाडौं, पोखरा र चितवनमा छायांकन गरिनेछ। सिनेमा असोजको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा छ।
यसअघि सम्राट बस्नेत निर्देशित सिनेमा ‘लाखे’ प्रदर्शनमा आएको थियो। पछिल्लो समय उक्त सिनेमा युट्युबमार्फत पनि सार्वजनिक गरिएको थियो।














