Sur Cinema

बजारको ट्रेन्डभन्दा विषयवस्तुलाई प्राथमिकता दिए : माओत्से गुरुङ

काठमाडौं : निर्देशक माओत्से गुरुङको आगामी सिनेमा ‘पेन्सन पट्टा’ केवल प्रेमकथा होइन, मानवीय त्याग, अव्यक्त प्रेम र आत्मिक सन्तुष्टिको कथा भएको निर्देशकको भनाइ छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आउने सिनेमाले धन र सम्पत्तिभन्दा ठूलो मानिसको सम्बन्ध र त्याग हुने सन्देश बोकेको उनले बताएका छन्।

१२–१५ वर्षदेखि मनमा बोकेको कथालाई पर्दामा उतारेको बताउँदै गुरुङले ‘पेन्सन पट्टा’ लाहुरे परिवारको वास्तविक जीवन र गुरुङ समुदायको मौलिक संस्कृतिबाट प्रेरित भएको खुलाए। उनका अनुसार सिनेमाको केन्द्रमा यस्तो प्रेम छ, जुन मनमा भएर पनि कहिल्यै शब्दमा व्यक्त हुन सक्दैन।

‘दयारानी’पछि निर्देशनमा फर्किएका गुरुङ बजारको ट्रेन्डभन्दा विषयवस्तुलाई प्राथमिकता दिने बताउँछन्। उनका अनुसार दर्शक हलबाट फर्कँदा एउटा प्रश्न मनमा लिएर जाऊन् भन्ने चाहना छ—”जीवनको सबैभन्दा ठूलो सम्पत्ति आखिर के हो?”
दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापालगायत कलाकारको अभिनय रहेको ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।