काठमाडौं : पूर्वी नेपालको तेह्रथुम जिल्ला, लालीगुराँस नगरपालिका–१ मा जन्मिएकी ज्योती खड्का हाल BBA (8th Semester) अध्ययनरत छिन् ।पढाइसँगै उनी नृत्य, अभिनय र मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउने यात्रामा निरन्तर अघि बढिरहेकी छन्।
रमाइलो वातावरणमा बितेको बाल्यकालले उनको व्यक्तित्वलाई आत्मीय र सहज बनायो। गीत सुन्न र त्यसको भाव बुझ्न थालेपछि उनको मन नृत्यतर्फ तानियो। उनी सम्झिन्छिन्, “म सानैदेखि आफ्नै लयमा नाचिरहन्थें। मेरो रुचि देखेर ममीले कक्षा २ मा पढ्दादेखि नै डान्स क्लासमा भर्ना गरिदिनुभयो। त्यसपछि आजसम्म निरन्तर नृत्य साधनामा छु।”

ज्योतीकी आमा अन्जु गौतम पूर्वीय भाकाकी चर्चित गायिका हुन्। आमाको सांगीतिक परिवेश र संस्कारले नै आफूलाई कला क्षेत्रमा अघि बढ्न ठूलो प्रेरणा दिएको उनी बताउँछिन्। उनका अनुसार उनकी आमा सरल, मनकारी, संघर्षशील, साहसी र निडर स्वभावकी हुनुहुन्छ। “जीवनलाई कसरी बुझ्ने, सपना कसरी पछ्याउने, संस्कार र जिम्मेवारीको महत्व के हो भन्ने सबैभन्दा ठूलो शिक्षा मैले ममीबाटै पाएकी छु,” उनी भन्छिन्।

हाल उनी अध्ययनसँगै म्युजिक भिडियो, विज्ञापन तथा विभिन्न अनलाइन भिडियो सामग्रीमा अभिनय गर्दै अनुभव बटुलिरहेकी छन्। नाटकदेखि म्युजिक भिडियोसम्मको यात्रामा उनले धेरै कुरा सिक्ने अवसर पाएकी छन्। विभिन्न ठाउँमा पुगेर प्रस्तुति दिने क्रममा बटुलेका अनुभवहरूलाई उनी आफ्नो कलाकारिताको महत्वपूर्ण पुँजी मान्छिन्।
मनोरञ्जन क्षेत्रमा महिलाले विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने उनको अनुभव छ। तर सही कार्य टोलीको छनोट, पारदर्शिता र आत्मविश्वास भए काम गर्न सहज हुने उनको विश्वास छ।

नृत्य र अभिनयमध्ये कुन सजिलो भन्ने प्रश्नमा उनी दुवै कलालाई समान महत्व दिन्छिन्। “नृत्य मेरो पहिलो प्रेम हो भने अभिनयले मलाई आफूलाई अझ फरक ढंगले अभिव्यक्त गर्ने अवसर दिएको छ। दुवैको आफ्नै विशेषता र महत्व छ,” उनी भन्छिन्।
हालै निर्माण भएको भएको “पानी खोलाको” (स्वर: मेलिना राई/ राजु तामाङ) बोल रहेको गीतमा काम गर्ने अवसरलाई उनी आफ्नो कलाकारिताको एउटा सुन्दर अनुभव मान्छिन्। जुन गीतलाइ बद्री दाहाल “अनन्त” ले लेखेका हुन भने केवल लामा (थिङ) ले सङ्गीत भरेका छन्। सम्पूर्ण टोलीको सहयोगका कारण छायांकन प्रक्रिया निकै सहज र रमाइलो बनेको उनी सुनाउँछिन्। दर्शकको माया र साथ नै कलाकारको सबैभन्दा ठूलो ऊर्जा भएको बताउँदै उनी आगामी दिनमा अझ राम्रो सिर्जनामार्फत दर्शकमाझ उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्छिन्।

भविष्यका योजनाबारे उनी स्पष्ट छिन्। अध्ययन पूरा गर्दै आफ्नै देशमा केही अर्थपूर्ण काम गर्ने, समाजसेवामा सक्रिय रहने, मिडिया क्षेत्रमा स्थापित हुँदै आफ्नै छुट्टै पहिचान बनाउने उनको लक्ष्य छ। उनी विश्वासका साथ भन्छिन्, “मेहनत, अनुशासन र निरन्तर सिकाइले नै सपना पूरा हुन्छ भन्ने कुरा मैले जीवनबाट सिकेकी छु।”














