Sur Cinema

पोस्टर सार्वजनिकसँगै ‘कमला मिस’प्रति बढ्यो उत्साह

काठमाडौं : आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेको दृश्यमार्फत आमा–छोराबीचको माया, त्याग र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित यस मनोवैज्ञानिक सिनेमाले सामाजिक यथार्थ र पारिवारिक संवेदनालाई उजागर गर्ने निर्देशक निर शाहको विश्वास छ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाह निर्देशित सिनेमामा रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगरलगायत कलाकारहरूको अभिनय रहेको छ।

विजय मल्ल परिवारद्वारा निर्मित सिनेमाको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले तयार पारेका हुन्। ‘कमला मिस’लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।