Sur Cinema

सङ्गमको सङ्कल्प

काठमाडौं : नेपाली सिने क्षेत्रमा बाल कलाकारका रूपमा पहिचान बनाएकी संगम बिष्टले हाल सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो अभिव्यक्तिले यतिबेला चर्चा पाएको छ। सिनेमा सम्बन्धी उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेकी बिष्टले आफ्नो व्यक्तिगत अनुभव र समाजप्रतिको आक्रोश व्यक्त गर्दै न्यायका लागि अन्तिमसम्म लड्ने प्रतिबद्धता जनाएकी छन्।

बाल्यकालदेखि नै कला क्षेत्रमा सक्रिय बिष्टले विभिन्न म्युजिक भिडियो तथा सिनेमामा अभिनय गर्दै आएकी छन्। उनले निर्देशक स्व. आलोक नेम्वाङको निर्देशनमा बनेको कुन्ति  मोक्तानको चर्चित गीतमा अभिनय गर्नुका साथै ‘श्रीमान’ र ‘लभ यु बाबा’ सिनेमा बाल कलाकारका रूपमा काम गरिसकेकी छन्। उनी विभिन्न राष्ट्रिय तथा अन्य अवार्डबाट सम्मानित भइसकेकी कलाकार हुन् ।

हालै सार्वजनिक अभिव्यक्तिमा बिष्टले आफूविरुद्ध समाजमा फैलिएका आरोप र नकारात्मक टिप्पणीप्रति असन्तुष्टि जनाउँदै त्यसको कडा प्रतिवाद गरेकी छन्। उनले आफ्नो संघर्षपूर्ण यात्रा, सिने क्षेत्रमा बिताएको बाल्यकाल र प्राप्त उपलब्धिहरू उल्लेख गर्दै आफूलाई गलत रूपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाएकी छिन्।

उनले लेखेकी छन् “अब उनको आवाज व्यक्तिगत सीमामा सीमित नरही धेरै पीडित महिलाहरूको प्रतिनिधि आवाज बनेको छ।” समाजमा विद्यमान अन्याय र दुर्व्यवहारविरुद्ध उभिने संकेत गर्दै उनले “यो लडाईं अब मेरो मात्र नभई सबैका लागि हो” भन्ने धारणा राखेकी छन्।

बिष्टको अभिव्यक्तिमा न्याय प्राप्त नभए कडा कदम चाल्ने चेतावनीसमेत दिइएको छ। उनले नारी शक्ति, आत्मसम्मान र प्रतिरोधको सन्देश दिँदै आफ्नो संघर्षलाई निरन्तरता दिने बताएकी छन्।

उनको यस अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थन र प्रतिक्रिया दुवै देखिएको छ। धेरैले उनको साहसको प्रशंसा गरेका छन् भने केहीले विषयलाई गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने धारणा राखेका छन्।