काठमाडौं : निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको सिनेमा ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ। सिनेमा आगामी नयाँ वर्ष २०८३ को वैशाख १ गते प्रदर्शनमा आउनेछ।
सिनेमाले विदेश पलायनका कारण खाली हुँदै गएको पहाडी बस्ती र त्यसले ल्याएको सामाजिक तथा आर्थिक समस्याको कथा प्रस्तुत गर्छ। निर्देशक घिमिरेका अनुसार यो कथा समग्र नेपालको यथार्थसँग जोडिएको छ।
सिनेमामा विपीन कार्की, स्व. सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ। यसै सिनेमा मार्फत घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्।
भाग्यरत्न फिल्म्सको ब्यानरमा बनेको सिनेमामा रञ्जित सिंह गजमेर को संगीत रहेको छ भने नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछन्।















