काठमाडौं : रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। सोमबार काठमाडौंको शिवपुरी नेशनल पार्क क्षेत्रस्थित रोयल ट्युलिप नेशनल पार्कबाट सिनेमाको सुटिङ सुरु गरिएको हो।
‘हिम्मतवाली’ र ‘मालिका’पछि करिब आठ वर्षपछि रेखा निर्देशनमा फर्किएकी हुन् । यसपटक उनी अभिनय नगरी पूर्ण रूपमा निर्देशनमै केन्द्रित रहनेछिन्। सिनेमा ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुँदैछ।
सिनेमामा मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठ मुख्य भूमिकामा छन्। साथै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको पनि प्रमुख भूमिका रहनेछ। अन्य कलाकारमा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल छन्।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको सिनेमाको कथा तथा पटकथा ध्रुव लम्सालले लेखेका हुन्। करिब एक महिना काठमाडौं आसपासमा छायांकन हुने यो सिनेमा आगामी वर्ष तीजको अवसरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।















