Sur Cinema

‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’बाट उत्कृष्ट फिल्मको अवार्ड ‘सतीदेवी’लाई

काठमाडौँ : नेपाली गीत–संगीत तथा सिने क्षेत्रका स्रष्टालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करण चलचित्र विकास बोर्डको हलमा भव्य रूपमा सम्पन्न भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३५ विधामा अवार्ड प्रदान गरियो। सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा भएको अवार्डमा २०८१ सालमा प्रदर्शन भएका सिनेमा तथा सार्वजनिक गीत–संगीत समेटिएका थिए। लाइफटाइम अचिभमेन्ट अवार्ड कलाकार तथा निर्देशक शुभाष गजुरेललाई प्रदान गरियो।

सिनेमातर्फ उत्कृष्ट अभिनेत्रीको अवार्ड केकी अधिकारीले (बोक्सीको घर) जितिन् भने उत्कृष्ट अभिनेता विजय वराल (पूर्ण बहादुरको सारंगी) घोषित भए। उत्कृष्ट फिल्मको अवार्ड ‘सतीदेवी’ले प्राप्त गर्‍यो।संगीततर्फ आधुनिक गायकमा रुद्र शेखर शर्मा र गायिकामा अन्जु पन्त उत्कृष्ट घोषित भए। कार्यक्रममा कलाकार, संगीतकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।