Sur Cinema

‘परालको आगो’को फस्ट लुक : गम्भीर र भावनात्मक अवतारमा सुहाना, सौगात र प्रकाश

काठमाडौं : आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’को फस्ट लुक सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक पोस्टरमा मुख्य कलाकार सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत गम्भीर र भावनात्मक अवतारमा देखिएका छन्।

पोस्टरमा सुहानाको सिउँदोमा सिन्दुर र निधारमा टीका भए पनि अनुहारमा असन्तोष झल्किन्छ। प्रकाश सपुत र सौगात मल्लको भावले कथा सामाजिक द्वन्द्व र मनोवैज्ञानिक संघर्षमा केन्द्रित रहेको संकेत गर्छ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यो सिनेमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र सानो कारणले ठूलो परिणाम ल्याउने विषयवस्तुमा आधारित छ। निर्माता सुशील पोखरेल रहेको सिनेमा हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो। सिनेमाको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटीले डिजिटल अधिकार लिएको छ।

उल्लेखनीय कुरा, यो कथा साहित्यकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथा सङ्ग्रहमा समावेश ‘परालको आगो’बाट प्रेरित हो, जसलाई करिब ४५ वर्षअघि प्रताप सुब्बाले पनि सिनेमाका रूपमा प्रस्तुत गरेका थिए।