काठमाडौं : प्रेम सोनी सुनारद्वारा निर्माण तथा निर्देशन गरिएको सिनेमा ‘गुरुआमा’को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरअनुसार सिनेमा आगामी नयाँ वर्ष २०८३ को अवसरमा वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
शिक्षक पेशाको गरिमा, त्याग र समाज निर्माणमा उनीहरूको भूमिकालाई केन्द्रमा राखेर निर्माण गरिएको यस सिनेमा सोनी फिल्मस प्रा.लि. को ब्यानरमा बनेको हो। सिनेमामा मिथिला शर्मा, बुद्धि तामाङ, सुशिल पोखरेललगायत कलाकारको अभिनय छ भने अतिथि भूमिकामा गौरी मल्ल र पूजा शर्माको विशेष उपस्थिति रहेको छ।
निर्माण पक्षका अनुसार ‘गुरुआमा’ केवल मनोरञ्जन मात्र नभई शिक्षक–विद्यार्थी सम्बन्ध, संघर्ष र सम्मानका कथालाई मार्मिक ढंगले प्रस्तुत गर्ने सशक्त सामाजिक सन्देश बोकेको सिनेमा हो।















