काठमाडौं : रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वादका सिनेमा ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण हुने भएको छ । लेखक–निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको टिमअपमा बन्ने यी सिनेमाले नयाँ सोच र फरक प्रस्तुति दिने निर्माण पक्षको दाबी छ। दुवै सिनेमा २०८३ सालमा प्रदर्शनमा ल्याइने तयारी छ।

पोस्टरमार्फत औपचारिक घोषणा गरिएको सिनेमा ‘कालकट्टी’को छायांकन माघको अन्त्यतिर सुरु हुँदैछ। कलाकार तथा प्राविधिक टोली छनोटको प्रक्रिया जारी छ। रघुनाथ सापकोटाको निर्माणमा बन्ने यस सिनेमाको कथा, पटकथा, संवाद र निर्देशन अमरदीप सापकोटाकै हुनेछ। छायांकन निसाल पौडेलले गर्नेछन् भने संगीत भीम बिष्टको रहनेछ।
सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ र डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहनेछ। ‘कालकट्टी’ पछि अर्को सिनेमा ‘काकाको बिहे’ को छायांकन सुरु गरिनेछ।















