Sur Cinema

बंगलादेशी सिनेमा प्रमोद : टिजरमा दमदार एक्सन दृश्य

काठमाडौं : अभिनेता प्रमोद अग्रहरीले बंगलादेशी सिनेमाबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्। उनको अभिनय रहेको एक्सन सिनेमा ‘शार्क’ को १ मिनेट लामो टिजर सार्वजनिक भएको छ, जहाँ प्रमोदको दमदार एक्सन अवतार देख्न सकिन्छ। समुन्द्रमा गुण्डाहरूसँग भिड्ने दृश्यले टिजरलाई थप रोचक बनाएको छ।

बंगाली भाषामा ‘हाङ्गोर’ नाम रहेको यो सिनेमाको अंग्रेजी शीर्षक ‘शार्क’ हो। सार्वजनिक पोस्टरमा प्रमोदको नाम कलाकार सूचीमा पहिलो नम्बरमा राखिएको छ। सिनेमा २०२६ को इदमा प्रदर्शन हुने तयारीमा छ।

नेपाली सिनेमा ‘पिताम्बर’, ‘रावायण’ र ‘अगस्त्य च्याप्टर १’ मा गरेको एक्सन भूमिकाबाट प्रभावित भएर निर्देशक ट्यानमोइ सुर्जोले उनलाई छनोट गरेका हुन्। गाजी हिमोको निर्माणमा बनेको यो सिनेमाको छायांकन गत अक्टोबरमा ढाकामा गरिएको हो।

टिजर सार्वजनिक भएपछि नेपालमा पनि प्रदर्शनको माग बढेको छ। प्रमोदले नेपाली दर्शकलाई निराश नपार्ने र नेपालमा पनि सिनेमा रिलिज हुने बताएका छन्।