काठमाडौं : सिनेमा‘बम बिहारी’को शुभमुहूर्त भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गरी गरिएको छ । शुभमुहूर्तसँगै सिनेमाको छायांकन पनि बुधबारबाटै सुरु भएको छ । डिएमएस मल्लको निर्देशनमा बन्न लागेको यो सिनेमा उनको डेब्यु निर्देशन हो । यसअघि उनले करिब ५० म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । एक महिना लामो छायांकन तालिकाअनुसार सिनेमा काठमाडौं र नेपालगन्जमा खिचिनेछ ।
नेपाली आमा र भारतीय बाबुको छोरोको कथामा आधारित ‘बम बिहारी’ एक पात्रको नाम हो, जसको वरिपरि कथा घुम्छ । सिनेमामा निर्देशन र लगानी दुवै मल्लकै रहनेछ । सिनेमामा सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा) र झरना रिसाल मुख्य भूमिकामा छन् । सुमन ज्योती नकारात्मक भूमिकामा देखिँदैछन् भने झरना सात वर्षपछि सिनेमामा फर्किएकी हुन् ।
कलाकारहरूमा सुरबिर पण्डित, ध्रुव बुढाथोकी, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्री पनि छन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, सरोज बुढाथोकीको मेकअप, रामेश्वर हुमागाईंको टिमको छायांकन र गौतमराज खड्काको सम्पादन रहने सिनेमाको प्रदर्शन मिति भने तय भएको छैन ।















