काठमाडौं : हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को २ मिनेट ५५ सेकेण्ड लामो ट्रेलर राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । ट्रेलरले भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथा चित्रण गर्छ, जसले हालैको जेनजी आन्दोलनको झल्को दिन्छ।
विदेशमा अध्ययनको सपना चक्नाचुर भएपछि युवा आन्दोलनतिर उन्मुख हुने कथा प्रस्तुत गरिएको छ। निर्देशक पाँडेका अनुसार जेनजी आन्दोलनभन्दा अघि नै छायांकन सकिएको भएकाले कथामा केही मेल भए संयोग मात्र हो।
नागराज इन्टरटेन्मेन्टको निर्माणमा बनेको सिनेमाले लामो समयपछि अभिनेता गणेश उप्रेतीलाई कमब्याक गराएको छ। उनिसँगै रमेश उप्रेती, दीपाश्री निरौला, सरिता गिरी, निर्मल शर्मा लगायत कलाकारको अभिनय देख्न सकिन्छ।
आगामी पौष ४ गते देशव्यापी रिलिज हुने सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् भने बाल कलाकारमा दिप्सन चिलवाल छन्। एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिन्छन्।
सिनेमाको कथा निर्देशक घिमिरे स्वयंको हो भने पटकथा–संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्। छायांकन बुद्ध थापाले गरेका हुन्।















