Sur Cinema

‘पीआर’को अष्ट्रेलिया र न्युजिल्यान्डमा सोल्ड–आउट

काठमाडौं : मंसिर २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पीआर’ अष्ट्रेलिया र न्युजिल्यान्डमा सोल्ड–आउट भएको छ। त्यहाँका मि. श्रेष्ठ प्रोपाइटरी लिमिटेड र श्रेष्ठ फ्यासिलिटी म्यानेज्मेन्ट कम्पनीले सिनेमाको प्रदर्शन अधिकार खरिद गरेका हुन्। सञ्चालक विजेन्द्र श्रेष्ठका अनुसार सामाजिक सन्देश बोकेको र सबैले धेरै रुचाएको विषय भएकाले सिनेमा मागअनुसार खरिद गरिएको हो।

यसअघि अष्ट्रेलियाका विभिन्न स्थानमा गरिएको विशेष शोले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । शोभित बस्नेत निर्देशित सिनेमामा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्की देखिन्छन्।

निर्देशक बस्नेत अहिले अष्ट्रेलियामै फिल्मको प्रमोशनमा व्यस्त छन्। सिनेमाका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल लगानीकर्ता हुन्। सिनेमामा गणेश बुढाथोकीको लेखन, बन्दे प्रसादको सम्पादन, सौरभ सायमी र सौरभ लामाको छायांकन, मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको गायन छ। सलोन सलिना फिल्म्स ब्यानरमा बनेको फिल्मको वितरण आर आर फिल्म्सले गरिरहेको छ।