Sur Cinema

‘परान’को प्रचारप्रसारको लागि पूजा चन्द नेपाल प्रस्थान

काठमाडौं : अभिनेत्री पूजा चन्द सिनेमा ‘परान’को प्रचारका लागि अमेरिकाबाट नेपाल आइपुगेकी छन्। उनी आज (सोमबार) बिहान ११:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। विमानस्थलमा ‘परान’का निर्देशक दीपक आचार्यले उनलाई स्वागत गरेका थिए।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै चन्दले १८ घण्टाको लामो यात्रामा मोबाइलमा सिनेमाका क्लिप्स हेरेर समय बिताएको बताइन्। उनले सिनेमा प्रचारका लागि करिब एक महिना नेपालमा रहने र ‘परान’प्रति निकै उत्साहित रहेको बताइन्।

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’मा निर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, पूजा चन्दलगायत कलाकारले अभिनय गरेका छन्।

रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर, शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरूङको सम्पादन रहेको सिनेमा ‘परान’ बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो। यो कम्पनी गोल्छा ग्रुप र प्रिज्मा ग्रुपको संयुक्त लगानीमा स्थापित हो।