Sur Cinema

किन गर्‍यो ‘परान’ टिमले १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा ?

काठमाडौँ : कार्तिक १४ गतेबाट रिलिज हुने पारिवारिक सिनेमा ‘परान’ले दर्शक आकर्षित गर्न १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

सिनेमाले ‘मेरो परान’ नामक प्रतियोगिता सञ्चालन गर्दै सहभागीले आफ्ना ‘परान’ (बुबाआमा, जीवनसाथी, प्रेमी–प्रेमिका, साथी आदि)सँगको तस्बिर ‘मेरो परान’ लेखी फेसबुकमा पोस्ट गरी सिनेमाको अफिसियल पेज ट्याग गर्नुपर्नेछ। लक्की ड्र मार्फत १ जनाले १ लाख रुपैयाँ जित्नेछन् भने १०० जनाले विशेष शोको टिकट पाउनेछन्।

यस्तै, प्रचार अभियान अन्तर्गत शहरका स्वयंसवकहरूले सिनेमाको QR कोडसहित प्रचार गर्ने र QR स्क्यान गरी सिनेमाको ट्रेलर वा गीत सेयर गर्ने ५० जनालाई कलाकारसँगै सिनेमा हेर्ने अवसर प्रदान गरिनेछ। दुवै प्रतियोगितामा कार्तिक २० गतेसम्म सहभागिता जनाउन सकिनेछ।

‘परान’लाई गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा र प्रिज्मा एडका रञ्जित आचार्यले निर्माण गरेका हुन्। निर्देशक दीपकप्रसाद आचार्य (काकु) को यो पहिलो निर्देशकिय सिनेमा हो। सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, पूजा चन्द, बुद्धि तामाङ लगायतको अभिनय छ।