काठमाडौं : कात्तिक ६ गते रिलिज हुने सिनेमा ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बरालसँग अभिनेत्री समृद्धि अर्याल मुख्य भूमिकामा देखिँदैछिन्। ‘फर्की फर्की’बाट अभिनय यात्रा सुरु गरेकी समृद्धिले पहिलो सिनेमामै अनमोल केसीसँग स्क्रिन सेयर गरेकी थिइन्। दोस्रो सिनेमामा उनले दयाहाङ र विजयसँग काम गर्ने मौका पाएकी छन्।
हङकङमा जन्मिएकी समृद्धिको बाल्यकाल नेपाल र हङकङ दुबैमा बितेको हो। अभिनयप्रति रुचि भएकी उनले मुम्बईको Whistling Woods Institute मा तीन वर्ष अभिनयको तालिम लिएकी थिइन्। त्यहाँपछि उनले पिज्जा र जिलेटजस्ता ब्रान्डका विज्ञापनमा मोडलिङ गर्दै म्युजिक भिडियो र सर्ट सिनेमाहरूमा काम गरेकी हुन्।
‘वरिष्ठ बलराम’मा समृद्धि ‘कुशुम’ पात्रका रूपमा विजय बरालको अपोजिटमा देखिँदैछिन्। सुरेन्द्र पौडेल निर्देशित यस सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ।
वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको संयुक्त प्रस्तुति रहेको सिनेमाका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी. घिमिरे, लाइन प्रोडुसर राम विष्ट हुन्।
सिनेमामा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ।
डीसीएनले काठमाडौं उपत्यकामा र कुवेर सिने डिस्ट्रिब्युसन ले उपत्यका बाहिर सिनेमा वितरण गर्नेछ।















