Sur Cinema

‘वरिष्ठ बलराम’ : जोशिलो र विद्रोही पात्रको रुपमा विजय

काठमाडौं : कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउने सिनेमा ‘वरिष्ठ बलराम’मा अभिनेता विजय बराल पुनः फरक रूपमा देखिने भएका छन्।
‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकाबाट चर्चामा आएका विजय यसपटक जोशिलो र विद्रोही पात्रमा प्रस्तुत हुनेछन् । उनले समाजमा वरिष्टको हैसियतमा बसेको पात्र (दयाहाङ राई) लाई चुनौती दिने युवाको भूमिकामा अभिनय गरेका छन्।

सिनेमामा धर्म, जिम्मेवारी र प्रेमबीच दोधारमा परेका बलराम (वा बले)को कथा देखाइन्छ । विजयको क्यारेक्टरले दयाहाङको शक्तिशाली छविलाई ठेगान लगाउने प्रयास गर्छ। विजय भन्छन्, “पूर्णेको पात्रपछि दर्शकको मनमा नयाँ छवि बनाउनु सजिलो छैन, तर कहिलेकाहीँ सादा कुरा नै हिट हुन्छ।”

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतको अभिनय छ। निर्माणमा आन्भी फिल्म्स र वृषभ सिद्धि इन्टरटेनमेन्ट छन्, निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन्।

मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन र प्रदीप लामोको नृत्य निर्देशन रहेको सिनेमालाई उपत्यकाभित्र डीसीएन, बाहिर कुवेर सिने डिस्ट्रिब्युसन ले वितरण गर्नेछ।