Sur Cinema

‘एक्लो’ को गीत सार्वजनिक

काठमाडौं :  वैज्ञानिक कल्पनामा आधारित नेपाली सिनेमा ‘एक्लो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा कलाकार कविता नेपाली फिचर्ड छिन्।

शान्ती श्री परियारको सुमधुर स्वरमा सजिएको गीतमा कविता नेपाली र सागर रानाको अभिनय रहेको छ। गीतमा शब्द स्वप्निल शर्माको र संगीत रोहित शाक्यको रहेको छ। भिडियोलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर संयोजन गरेका छन्।

सिनेमा ‘एक्लो’ ले यसअघि कान्स फिल्म फेस्टिभलमा आफ्नो उपस्थिति जनाइसकेको छ। कान्सपछि सिनेमाको चर्चा थप चुलिएको निर्माण टिमले जनाएको छ।
निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको सिनेमामा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, कविता नेपाली, जेमी बेकनलगायत कलाकारहरूको अभिनय रहेको छ।

एनआरएन समूहको लगानीमा बनेको सिनेमामा अभिनेता प्रदीप खड्काको समेत लगानी रहेको छ। सिनेमा आउँदो पुष १७ गते (जनवरी १, २०२६) सार्वजनिक प्रदर्शनमा ल्याइने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ।