काठमाडौं : भाइटीकाको अवसर पारेर कात्तिक ६ गते सार्वजनिक प्रदर्शन हुन लागेको सिनेमा ‘वरिष्ठ बलराम’ अहिले चर्चामा छ ।
सिनेमाको गीत ‘न्याउली बनैमा’ले सार्वजनिक भएको दुई हप्तामै युट्युबमा ५२ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ। प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वरमा रहेको गीतमा शान्तीश्री परियारले समेत आवाज दिएकी छन्।
विजय बराल र समृद्धि अर्यालले अभिनय गरेको गीतले सामाजिक सञ्जालमा समेत लोकप्रियता कमाएको छ।
त्यसैगरी, सिनेमाको ट्रेलरले पनि दर्शकको ध्यान तानेको छ। चार दिनमै ट्रेलरले १३ लाख ९६ हजार भ्यूज पाएको छ। दयाहाङ राई र विजय बरालबीचको रोचक टकरावले दर्शकलाई उत्साहित बनाएको छ।
सुरेन्द्र पौडेल निर्देशित सिनेमामा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, माओत्से गुरुङ, पशुपति राई, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।
गीत र ट्रेलरको लोकप्रियता हेर्दा ‘वरिष्ठ बलराम’ले बक्स अफिसमा पनि राम्रो सफलता हात पार्ने अपेक्षा गरिएको छ।















