काठमाडौं : मिलन तामाङको निर्देशनमा तयार भएको सिनेमा ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो सिनेमाको बुधबार बेलुकी सेन्सर भएको हो । असोजको १३ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमालाई सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।
सिनेमा कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरूले तारिफ गरेको निर्माणपक्षले बताएको छ । सिनेमाका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् ।
यो सिनेमाको बूकिङ समेत खुलिसकेको छ । यो सिनेमाले देशभरका हलमा सय बढी शोज पाइसकेको छ । अझै पनि केही हलमा शोज खुल्न बाँकी नै छ ।सिनेमालाई बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शोज दिएका छन् । जसकाकारण, दर्शक सिनेमाप्रति आशावादी र प्रतीक्षामा रहेको बुझ्न सकिन्छ । सिनेमाको ट्रेलर र शीर्ष गीतले दर्शकको ध्यान तानिसकेको छ ।
सिनेमामा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ । रामशरण पाठकले लेखेको यो सिनेमाको कथावस्तुलाई दर्शकले मन पराउने र बलियो वर्ड अफ माउथ आउने अपेक्षा गरिएको छ ।















