काठमाडौं : सिनेमा ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ । ‘न्याउली बनैमा’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटीको शब्द रचना छ भने संगीत पनि प्रशान्तले नै भरेका छन् । स्वर प्रशान्त र शान्तीश्री परियारको छ ।
भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ । गीत र भिडियोले विजय र संबृद्धिको जोडी रहेको संकेत गरेको छ । प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको सिनेमामा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।
मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमामा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।















