Sur Cinema

“बलिदान”सिनेमा हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिन्छ : सन्तोष सेन

काठमाडौं :  सिनेमा ‘बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेनले सिनेमाप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन्। उनले यस सिनेमालाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्।

“हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो सिनेमा पर्दामा आउन लागेको हो। सेनले ‘बलिदान’को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गर्दै भने, “हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ। यी दुवै नै हाम्रो जीवनका आधार हुन्। यही आधारलाई सिनेमामा समेटिएको छ। सिनेमा हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन्।”

गत शुक्रवार सार्वजनिक गरिएको ‘बलिदान’को ट्रेलरले नेपाली सिने क्षेत्रमा व्यापक चर्चा ल्याएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत उत्सुकता बढाइसकेको सिनेमाले ट्रेलरमार्फत झन् ठुलो अपेक्षा निर्माण गरेको छ।

‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

असोज १३ गते (फूलपातीको दिन) प्रदर्शनमा आउने ‘बलिदान’लाई नेपाली सिनेमा इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ। निर्देशक सेनले यसलाई केवल सिनेमा नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका छन्। उनका अनुसार, ‘बलिदान’ हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउनेछन्।