काठमाडौं : सिनेमा ‘कुमारी’को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान सिनेमाको औपचारिक शुभ मुहूर्त ललितपुरको बङ्गलामुखी मन्दिरमा गरिएको छ, जहाँ सिनेमाका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो। दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो। सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ।
यस सिनेमामा अबिषेक खड्का र आकृति राज भण्डारी मुख्य भूमिकामा छन्। यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ। बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो सिनेमालाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।
‘कुमारी’मा सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ, र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतमा स्वर केहर सिंह लिम्बुले नै दिएका छन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस सिनेमामा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। सिनेमाको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन् ।















