काठमाडौं : सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सिनेमाका दुई पोस्टर निर्माण पक्षले सोमबार बिहान सार्वजनिक गरेका हुन् । सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । पहिलो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देखिन्छ । छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन् । यसैगरी दोश्रो पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा झैं मीठो मुस्कानमा देख्न सकिन्छ।
डेब्यू निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा निर्देशक शिव रेग्मी- जो पारिवारिक सिनेमाका लागि परिचित छन् उनकै विरासत समातेको बुझ्न सकिन्छ । सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । सिनेमामा आलोक शुक्लाको छयांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।
सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ भने सिनेमा मंसिर १२ गते रिलिज हुँदैछ ।















