काठमाडौं। सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ को एक नयाँ गीत सार्वजनिक भएको छ। ‘लड्की गोरी’ बोलको उक्त गीत भोजपुरी लवजमा तयार पारिएको छ।
यो सिनेमामा तराई क्षेत्रका पात्र र कथावस्तु भएकाले सोही क्षेत्रमा प्रचलित भोजपुरी शैलीको गीत समावेश गरिएको निर्माण पक्षले जनाएको छ। गीतमा युवायुवतीको एकअर्काप्रतिको चाहनालाई प्रस्तुत गरिएको छ।
‘लड्की गोरी’ बोलको यो डान्सिङ नम्बर गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको रहेको छ। यसको संगीत संयोजन विषम आचार्यले गरेका हुन्। गीतको भिडियोमा जुना सुन्दासको आइटम डान्स देख्न सकिन्छ, जसको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन्। गीतको भाषा नेपाली भए पनि यसको लवज र नृत्य शैली भोजपुरी रहेको छ।
सुशान्त गौतमले निर्देशन गरेको यो सिनेमामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो सिनेमाको लेखन मुकेश खनालले गरेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा हुन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको यस सिनेमामा रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता छन्।
विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। सिनेमामा मनोज श्रेष्ठले भिएफएक्स, सुप्रिम पराजुलीले रंग सम्योजन, मदन घिमिरेले सम्पादन र शरद महतोले डिओपीको जिम्मेवारी सम्हालेका छन्।
पैसाको लोभमा परेर चक्रव्यूहमा फसेको एक पात्रको संघर्षको कथामा आधारित ‘अभिमन्यु : च्याप्टर–१’ नेपाली संस्करण आगामी भदौ २७ गते रिलिज हुँदैछ। यसको हिन्दी संस्करण भने असोज ६ गते अर्थात् सेप्टेम्बर २२ मा विश्वव्यापी रूपमा रिलिज गरिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।















