काठमाडौं : करिब ८ वर्षपछि निर्देशक ऋषि लामिछाने नयाँ सिनेमा ‘माग्ने राजा’ मार्फत फर्किएका छन्। सन् २००५ मा सिनेमा ‘कहिँ मिलन कहिँ विछोड’बाट निर्देशनमा पाइला टेकेका लामिछानेले यो बीचमा आधा दर्जनभन्दा बढी सिनेमा निर्देशन गरिसकेका छन्।
सिनेमा ‘किस्मत २’ पछि लामिछाने लामो समय निर्देशनमा देखिएनन्, तर अहिले आफ्नो १० औँ सिनेमा ‘माग्ने राजा’ लिएर दर्शकमाझ आएका छन्। यो सिनेमा आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदैछ।
सिनेमाको कथा फेसबुकको एक फोटोबाट जन्मियो
सुरसिनेमाकर्मीसँगको कुराकानीमा निर्देशक लामिछानेले सिनेमा ‘माग्ने राजा’को कथा फेसबुकमा देखेको एउटा तस्बिरबाट सुरु भएको बताए। “एकदिन फेसबुक हेर्दै गर्दा एउटा बालकको तस्बिर देखेँ, जो ढुंगामा नाङ्गै बसिरहेको थियो तर ऊ संसारकै सबैभन्दा खुसी मान्छे जस्तो देखिन्थ्यो,” उनले भने।
त्यो तस्बिरले उनलाई संसार जित्न वा खुसी हुन भौतिक सुखसुविधा नभई महसुस नै सबैभन्दा ठूलो कुरा हो भन्ने कुराको बोध गरायो। त्यसैबाट उनले एउटा गरिब वा माग्ने मान्छे पनि राजा बन्न सक्छ, धनी हुन सक्छ र चर्चाको शिखरमा पुग्न सक्छ भन्ने कथाको कल्पना गरे।
“मभित्र पनि राजा छ, तपाईं भित्र पनि राजा छ, सबैभित्र राजा छ। तपाईं खुसी हुन सिक्नुस्, अनि सबैको मनभित्र राजा भेट्टाउन सकिन्छ,” उनले थपे। यही सोचका साथ उनले केदार प्रसाद घिमिरे(माग्ने बुढा)को छवि आफ्नो दिमागमा ल्याए। एक गरिब र दरिद्र पात्र राजा बन्दा वा धनी भएपछि कस्तो देखिन्थ्यो होला भन्ने परिकल्पनाले कथाले केदार घिमिरेलाई माग्यो।
लामिछानेले स्पष्ट रूपमा भने, “यदि केदार प्रसाद घिमिरेले यो सिनेमा नगरेको भए यो सिनेमा बन्ने नै थिएन। उहाँ सिनेमा गर्न राजी भएपछि मात्र अन्य कलाकारहरू सिनेमामा जोडिनुभएको हो।”
पारिश्रमिक विवाद र कलाकारको छनोट
यसै सिनेमामा केदार घिमिरेले ६१ लाख पारिश्रमिक लिएको भन्ने विषयले पनि चर्चा पाएको थियो। यस विषयमा निर्देशक लामिछानेले आफूलाई पारिश्रमिकले खासै महत्त्व नराख्ने बताए। उनका लागि पैसा कमाउनुभन्दा पनि सिनेमा मार्फत समाजलाई केही योगदान दिन पाउनु नै महत्त्वपूर्ण कुरा हो। त्यसैले पारिश्रमिक दोस्रो प्राथमिकतामा पर्ने उनको भनाइ छ।
सिनेमामा पवित्रा साँकी (मिस पबी) को भूमिकालाई लिएर उठेका विवादबारे पनि उनले स्पष्टीकरण दिए। साँकीलाई सिनेमाबाट निकालिएको भन्ने हल्ला निराधार भएको उनको दाबी छ। “उहाँ राम्रो कलाकार हुनुहुन्छ र सिनेमामा जति भूमिका थियो, त्यति नै छ,” उनले भने।
रुवाउनेबाट हँसाउनेसम्मको यात्रा
यसअघि दर्शकलाई रुवाउन सक्ने निर्देशकका रूपमा चिनिएका लामिछानेले अहिले ‘माग्ने राजा’ मार्फत हँसाउने प्रयास गरेका छन्। “जीवनमा पीडा र दुःख मात्रै छैन, हाँसो र खुसी पनि छ,” उनले भने। दर्शकलाई मनोरञ्जन दिनका लागि नै यो सिनेमा बनाएको उनले बताए।
उनको एकमात्र चाहना राम्रो र मनपर्ने सिनेमा बनाउन पाऊँ, र जीवनभर सबैको आशीर्वाद लिन पाऊँ भन्ने रहेको छ। यतिबेला सिनेमाको प्रचारप्रसारमा निर्माण टिम व्यस्त छ। ‘माग्ने राजा’ उत्कृष्ट सिनेमा बनेकोमा सिंगो टिम नै विश्वस्त छ र दर्शकले यसलाई मन पराउनेमा आशावादी छ।
सिनेमामा केदार घिमिरे (‘माग्ने बुढा’) मुख्य भूमिकामा छन्। उनीसँगै विल्सन विक्रम राई (‘तक्मे बुढा’), वर्षा शिवाकोटी, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साँकी (मिस पबी) लगायतका कलाकारहरुको पनि सिनेमामा मुख्य भुमिका रहेको छ।
सोसल ड्रामामा आधारित सिनेमाको कथा, पटकथा तथा संवाद सामीप्य राज तिमल्सिनाले लेखेका हुन्। सिनेमालाई कमेडी शैलीमा निर्माण गरिएको भए पनि यसमा सामाजिक सन्देश र भावनात्मक गहिराइ मिसिएको छ।
‘माग्ने राजा’ आरम्भ प्रोडक्सन ब्यानरमा निर्माण भएको सिनेमा हो। मुनाल घिमिरे र मधुसुदन शर्मा सिनेमाका निर्माता हुन्। सिनेमाको छायांकन नरेन्द्र मैनालीले गरेका छन्, संगीत दीपक शर्मा र बाबुल गिरीले तयार पारेका छन्, सम्पादन मित्र गुरुङले गरेका छन् भने पार्श्र्व संगीतमा सुजिल कर्माचार्य रहेका छन्।















