काठमाडौं : सरोज पौडेल निर्देशित नेपाली सिनेमा ‘कोशोढुङ्गा’को रिलिज मिति नजिकिँदै गर्दा, निर्माण टोलीले प्रचारप्रसारलाई तीव्रता दिएको छ।
आउँदो भदौ १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो सिनेमाको लिरिकल कविता हालै सार्वजनिक गरिएको छ। मुख्य कलाकार सुरक्षा पन्तको वाचनमा रहेको यो कवितामा प्रेम, समर्पण, विछोड, र सपनाको भाव व्यक्त गरिएको छ।
लिरिकल भिडियोमा सिनेमाका विभिन्न दृश्य तथा स्टिल तस्बिरहरू समावेश गरिएको छ, जसले मुख्य पात्रहरूको चरित्र र उनीहरूको भूमिकाबारे केही संकेत गर्छ। निर्देशक पौडेलका अनुसार, उनी कथाहरू किस्ताकिस्तामा खोल्ने योजनामा छन्, ताकि दर्शकहरूमा जिज्ञासा बढोस्।

कवितासँगै सिनेमाका तीनवटा नयाँ पोष्टर पनि सार्वजनिक भएका छन्। यी पोष्टरहरूमा सिनेमाका प्रमुख कलाकारहरूलाई उनीहरूको चरित्रको लुक्समा देख्न सकिन्छ।
एउटा पोष्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा लगायतका कलाकारहरू छन् भने अर्कोमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसीलाई देख्न सकिन्छ। तेस्रो पोष्टरमा सुरक्षा पन्तले भारी बोकेकी छिन् र मन्जिल कुमारलाई देखाइएको छ।

यसअघि नै सिनेमाका दुई प्रेमिल गीतहरू ‘भंगेरा भगेरी’ र ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भइसकेका छन्। यि मध्ये ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीत टिकटकमा निकै लोकप्रिय बनेको छ।

नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आउने घोषणाले ‘कोशोढुङ्गा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
यस सिनेमामा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ। प्रेविल कँडेल र किशोर अनुरागले निर्माण गरेको यस सिनेमामा बाबु श्रेष्ठको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ।















