काठमाडौं: बहुप्रतिक्षित नेपाली सिनेमा ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ।काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक भएको ट्रेलरले सिनेमाको मुख्य कथावस्तुलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। यसमा मुख्य पात्र ‘माग्ने राजा’ को संघर्षपूर्ण जीवन र उसको परिवर्तनको कथालाई देखाइएको छ। गरिबी र अन्यायका कारण आम मानिसले भोग्नुपरेको पीडालाई पनि ट्रेलरमा देखाइएको छ।
सिनेमामा केदार घिमिरे ‘माग्ने बुढा’, वर्षा शिवाकोटी, विल्सन बिक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ। सिनेमा आगामी भाद्र ६ गतेदेखि प्रदर्शनमा आउँदैछ।
ऋषि लामिछानेको निर्देशन रहेको यो सिनेमालाई आरम्भ प्रोडक्सन ब्यानरमा मुनाल घिमिरेले प्रस्तुत गरेका हुन् । सिनेमाको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन्। सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ।


















