काठमाडौं : ‘रत्यौली’ नामक नयाँ नेपाली सिनेमाको औपचारिक घोषणा गरिएको छ। यो सिनेमा नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित हुनेछ। सिनेमाको शीर्षक विवाहमा महिलाहरूले गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भएर राखिएको हो।
म्युजिक भिडियोमा सफल मोडलको रूपमा काम गरिसकेका रन्जन रिजालले यस सिनेमाबाट निर्माण क्षेत्रमा पाइला चाल्दै छन्। उनी सिनेमाका प्रस्तुतकर्ता पनि हुन्। मुस्कान ढकालले यो सिनेमाको निर्देशन गर्नेछन्, जसले यसअघि ‘नाई नभन्नु ल ३’ र ‘समभर लभ’ जस्ता सफल सिनेमाको निर्देशन गरिसकेका छन्।
नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो सिनेमामा नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानी रहेको छ। हाल कलाकार छनोट र अन्य प्राविधिक तयारीहरू भइरहेका छन्। सिनेमाको छायांकन आगामी तिहारपछि सुरु हुने बताइएको छ।















