काठमाडौं : निर्देशक दिनेश राउतले सिनेमा ‘कुमारी’को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी सिनेमाको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो । यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अविशेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो। कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले यसै सिनेमाबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै सिनेमाको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे।

‘कुमारी’को निर्माण बिनिश इन्टरटेन्मेन्टले गरिरहेको छ भने पिक्चर फ्रेमको सहकार्य रहनेछ । यसका निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन् । सिनेमामा अविशेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
सिनेमाको सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नेछन्। केहरले सबै गीतमा स्वर दिनेछन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् । सिनेमाको छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले बताएको छ। ‘कुमारी’को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण सम्हाल्नेछन्।

सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस सिनेमामा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। सिनेमाको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्। सिनेमामा सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ।















