Sur Cinema

झलकमान गन्धर्वलाई सम्मान गर्दै ‘कोशेढुंगा’को मार्मिक गीत ‘हे बरै’ रिलिज

काठमाडौं: नेपाली लोक संगीतका धरोहर झलकमान गन्धर्वलाई सम्मान गर्दै सिनेमा ‘कोशेढुंगा’ टिमले नयाँ गीत ‘हे बरै’ सार्वजनिक गरेको छ। झलकमानको चर्चित गीत ‘के बरै’ लाई नै रिमेक गरेर सिनेमामा समावेश गरिएको छ।

यस मार्मिक गीतमा परदेश गएको छोरो परिबन्दमा परेर घर फर्किन नसक्ने अवस्थाको चित्रण गरिएको छ। आशिष अविरलको स्वर रहेको यो गीतमा परिवारको दुःख हटाउन परदेशिएको व्यक्तिले जीवनको अन्तिम क्षणमा आफ्ना परिवारलाई कसरी सम्बोधन गर्छ भन्ने कथा समेटिएको छ।

सार्वजनिक भएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार मुकुन भुसाललाई सारङ्गी बजाउँदै गरेको क्यारेक्टरमा देख्न सकिन्छ। उनको पात्रलाई ‘पूर्ण बहादुरको सारङ्गी’ सिनेमाको वीरेको क्यारेक्टरबाट प्रेरित गरिएको छ। मुकुनको यो भावुक प्रस्तुतिसँगै बालकलाकार अर्नव खड्का पनि भिडियोमा देखिएका छन्।

सरोज पौडेलको निर्देशनमा बनेको यो सिनेमालाई नरदेवी फिल्मसले निर्माण गरेको हो। ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल सिनेमा निर्देशन गरिसकेका पौडेलले यसपटक ‘कोशेढुंगा’ मार्फत अर्को सशक्त कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सिनेमामा मुकुन भुसालसँगै सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।

सिनेमाको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।

‘कोशेढुंगा’ आगामी भदौ १२ गते नेपालसहित विश्वका ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शन हुनेछ। प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले यसको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको छ।

नेपाली सिनेमाको इतिहासमा पहिलो पटक यति धेरै देशमा एकसाथ प्रदर्शनमा आउने यो सिनेमाले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमालाई नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ।