काठमाडौं : मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक सिनेमा ‘सुम्निमा’मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाका प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत सिनेमाका लागि चयन गरिएको निर्देशक चाम्सले जानकारी दिए।
स्प्लिट्सभिल्लाको १४औं सिजनमा अनिकेत उत्कृष्ट आठमा पर्न सफल बनेका थिए । नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको निर्देशकको भनाइ छ। सिनेमा ‘सुम्निमा’ मार्फत अनिकेत पाख्रिन लामा नेपाली सिने उद्योगमा डेब्यू गर्दैछन् ।
यसअघि अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अनुप बिक्रम शाही सिनेमामा अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टिमको चयनको प्रक्रिया जारी रहेको छ।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहकार्यको निर्माणमा बन्ने यो सिनेमा विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले जानकारी दिएका छन् । राजीव थापाको लेखनमा बन्ने यो सिनेमाको छायांकन आउँदो अगस्टमा लन्डन र नेपालमा हुने बताइएको छ ।















