काठमाडौँ : नेपाली सिने उद्योगमा पछिल्लो समय सिनेमा निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ । लगभग दैनिक रूपमा नयाँ नयाँ सिनेमाको घोषणा भइरहेका बेला, निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा कमेडी जनरामा सिनेमा ‘किस्ने कहाँ छ ?’को औपचारिक घोषणा गरिएको छ ।
सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले शुक्रबार घोषणा गरेका हुन् । थिम पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गर्दै गरेको मान्छे संग कुरा गर्दै गरेको देख्न सकिन्छ ।
सिनेमाको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन् । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस सिनेमामा हेमन्त बस्नेतको लगानी रहने छ भने, कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती हुन् ।
कमेडी जनरामा आधारित ‘किस्ने कहाँ छ ? ’ले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ। यो सिनेमाले पनि नेपाली सिनेमाले पछिल्लो समय लिएको कमेडी धारलाई अगाडि बढाउने विश्वास गरिएको छ ।















