Sur Cinema

‘जदौ’को औपचारिक निर्माण घोषणा : अन्तरजातीय प्रेमसम्बन्धको कथालाई जोड

काठमाडौं : सिनेमा ‘जदौ’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा कलाकारहरु मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ र गीतकार प्रिति कौरको उपस्थित थियो भने उनै कौर लिखित गीत वाचन गर्दा माहौल स्तब्ध बनेको थियो ।

कार्यक्रमका प्रमुख अथिति चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता–मानिस ठूलो दिलले हुन्छ जातले हुदैन..वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गरेको हो ।  

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने सिनेमाको यसअघि अन्य जानकारी दिइएतापनि निर्देशकबारे भने खुलाइएको थिएन । उक्त कार्यक्रममा ‘जदौ’ काजी लिम्बू र अञ्जन शर्माको संयुक्त रुपमा निर्देशन गर्ने जानकारी दिएका छन् ।

भदौ पहिलो साताबाट छायांकनमा जाने सिनेमा सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा रहने छ ।

सिनेमामा मुकुन, नीति, प्रभात पाल, बिनोद, सन्ध्याका साथमा ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायतका कलाकारले अभिनय रहने छ भने सिनेमाको सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा छन् ।

श्याम तामाङले खिच्ने सिनेमाको निर्माण ब्यबस्थापक बुद्धिलाल माझी (देवा),कला निर्देशक चिरञ्जीवि भण्डारी, द्वन्द्व निर्देशक मिलन श्रेष्ठ छन् । बिनयराज पौडेल मुख्य सहायक निर्देशक रहने सिनेमाको गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत हुनेछ । सिनेमा दाङ र प्युठानका बिभिन्न स्थानमा खिचिने छ ।

संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गोलाप्रथाद्वारा भाग्यशाली ७ संचारकर्मीलाई पुरस्कार स्वरुप दैनीक जीवनमा उपयोग हुने बिबिध सामाग्रीहरु प्रदान गरिएको थियो । निर्देशक लिम्बूले ‘जदौ’ यादगार बनोस् भनेर लक्की सेभेन गिफ्टको कन्सेप्ट ल्याइएको बताए ।