काठमाडौं : सिनेमा ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार सिनेमाको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उनलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन् ।
निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ । पोस्टरले कतै यो सिनेमाले काठमाडौंको रंगीन नाइटलाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथा त भन्दै छैन भन्ने संकेत गरेको छ । तर, प्रष्ट छैन ।
गत बिहीबारबाट यो सिनेमाको छायांकन सुुरु भइसकेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने सिनेमाको छायाकंन तालिका २० दिनको छ ।‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरिरहेका छन् । चौहान अहिलेको प्रतिक्षित सिनेमा ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । उनको यो डेब्यु निर्देशन हो ।
‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । सिनेमाको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने सिनेमालाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो ।
‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । सिनेमाको छायांकन नरेन्द्र मैनालीको हुनेछ । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको सिनेमामा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।















